कोरोना संक्रमित बढेपछि काठमाडौंमा निषेधाज्ञाः उल्लंघन गरे कडा कारवाही (भिडियोसहित)

३ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय प्रशासनले आज राति १२ बजेदेखि निषेधाज्ञा लगाएको छ ।
कोरोनाको संक्रमण फैलिँदै गएपछि त्यसको जोखिम कम गर्न सरकारले कडा कदम चालेको हो । अत्यावश्यक बाहेक आज राति १२ बजदेखि भदौ १० गते रातिसम्म हिंडडुलसमेत गर्न पाइने छैन ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको छ । बुधवार १ सय ५९ र मंगलबार काठमाडौं उपत्यकामा दुई सय पाँच संक्रमित थपिएका छन् । पछिल्लो एक सातामा झण्डै सात सय संक्रमित थपिएपछि उपत्यकामा निषेधाज्ञा लगाउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो । किनकी कठोर कदम नचाले अवस्था भयावह हुने खतरा छ ।
संक्रमितको संख्या बढ्नुको प्रमुख कारण सरकारको कमजोरी त छँदैछ, त्यसमाथि नागरिकको लापरवाही पनि अर्को कारण हो । मानिसको आवागमन ठप्प नपारे अवस्था विकराल हुनेछ भन्ने प्रशासनको बुझाई छ । किनकी कोरोनाबाट बच्न सरकारले विभिन्न उपाय अवलम्बन गर्न निर्देशन दिएपनि नागरिकले गम्भीरतापूर्वक लिएनन् ।
यो निषेधाज्ञा कडाईपूर्वक लागू हुनेछ । कसैले उल्लंघन गरेमा संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारवाही हुनेछ ।
निषेधाज्ञा जारी गरिएको अवस्थामा अत्यावस्यकबाहेकका सबै प्रकारका सेवा, ब्यापार, ब्यावसाय बन्द हुनेछन् । अत्यावस्यक काम बाहेक सबैलाई घरभित्रै बस्न भनिएको छ । यो बेला परीक्षणको दायरा बढाउने र आइसोलेसनको ब्यवस्थापन गर्ने काममा लाग्ने सरकारको तयारी छ ।
प्रतिक्रिया