कोरोना संक्रमित बढेसँगै आज मध्यरातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै
३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमण दर तिब्र गतिमा बढेसँगै काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू हुने भएको छ ।
राजधानीमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउनुभयो ।
संक्रामक रोग ऐन २०२० ले दिएको अधिकारबाहेक प्रशासनले बल समेत प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना संक्रमण प्रतिदिन जटिल बन्दै गएको छ ।
गृह मन्ञालय तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज गरिसकेको छ । आज बुबा खुवाउने औंसी र ५ गते हरितालिका तीज पर्व रहेको छ ।
यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको हो ।
हिजो मात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया