राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

Himalaya Television
२०७७ भदौ ३ गते ७:५७

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

३ भदौ, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

घिमिरेको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिहान १० बजे घिमिरे निवासमै राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम तय भएको छ । घिमिरेको कपुरधारास्थित आफ्नै निवासमा हिजो साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । स्वास प्रश्वास समस्या देखिएपछि चार महिनादेखि अक्सिजन दिएर घिमिरेको घरमै उपाचार भइरहेको थियो ।

१९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे १३ बर्षको उमेरबाटै साहित्यमा लाग्नुभएको थियो । नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्य साधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका रुपमा पनि चिन्छन्।

उहाँले राणाकालमा १९९४ सालमै नवमञ्जरी, प्रजातन्त्रकालमा २०१० सालमा घामपानी र २०१३ सालमा नयाँ नेपाल लेख्नुभएको थियो । घिमिरेको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि।सं। १९९४ सालमा प्रकाशित भएको थियो । गौरी राष्ट्रकवि घिमिरेको पहिलो शोककाव्य हो ।

साझा प्रकाशनले विक्रम संवत २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविता संग्रहित छन्। यसैगरी घिमिरेका गीतिनाटक मालती मङ्गले , हिमालपारि हिमालवारि, गीतसङ्ग्रह राजेश्वरी, इन्द्रकुमारी राष्ट्रनिर्माता, किन्नर(किन्नरी र निबन्ध संग्रह चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत प्रकाशित छन ।

राष्ट्रकवि घिमिरेलाई विक्रम संवत २०६७ सालमा पद्यश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पनि प्राप्त गर्नु भएको थियो ।

पछिल्लो पटक उहाँ ऋतंभरा महाकाव्य पूरा गर्ने लक्ष्यमा डट्नुभएको थियो । तर पूरा गर्न भने पाउनुभएन । घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविता जनजिब्रोमा झुण्डिएका छन् ।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ुफूलको थुङ्गा बगेर गयोु आजै र राति के देखेँ सपनाु राष्ट्रकविका चर्चित गीत हुन् । घिमिरेको निधनमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs