Main News

भेरी अस्पतालमा ज्वरोका बिरामी बढे, मेडिकल वार्ड प्रि–आइसोलेसन वार्डमा परिणत (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २ गते २०:३३
भेरी अस्पतालमा ज्वरोका बिरामी बढे, मेडिकल वार्ड प्रि–आइसोलेसन वार्डमा परिणत (भिडियोसहित)

२ भदौ, २०७७ नेपालगञ्ज । ज्वरोका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले मेडिकल वार्डको करिब ५० वेडलाई प्रि–आइसोलेनमा परिणत गरेको छ । प्रि–आइसोलेन वार्डमा पनि एक दर्जनभन्दा बढी बिरामी भर्ना भएका छन् । कोरोना संक्रमण नभए पनि मानिसलाई टाइफाइड, मलेरिया, स्कर्फ टाइफस, डेंगी जस्ता रोगका कारण ज्वरो आउने गरेको छ ।

नेपालगन्जको भेरी अस्पतालको इमर्जेन्सी र मेडिकल वार्ड ज्वरोका बिरामीले भरिन थालेको छ । ज्वरो आएर गम्भीर अबस्थामा पुगेपछि भेरी अस्पतालको इमर्जेन्सी वार्डमा आउने बिरामीको संख्या पछिल्ला दिनमा बढिरहेको छ । आकस्मिक कक्षमा दैनिक १५ देखि २० जनासम्म अक्सिजन नै दिनुपर्ने अबस्थाका बिरामी आउने गरेका छन् ।

इमर्जेन्सी वार्डमा रहेका १६ बेडमध्ये १३ वटा बेडमा ज्वरोका गम्भीर विरामी भर्ना गरिएको छ । ज्वरो आउने टाउको दुख्ने बान्ता हुने, सास फेर्न नै गार्‍हो हुने जस्ता समस्या भएपछि बिरामी अस्पतालमा ल्याएको आफन्तले बताएका छन् ।

सामान्य ज्वरो र रुघा खोकी लागेका बिरामी भन्दा पनि ज्वरो आएर सिकिस्त भए पछि मात्रै अस्पताल आउने गरेका छन । ज्वरो आएका बिरामीमध्ये केहिलाई कोरोना संक्रमण भएको हुनसक्ने आँकलन गरेर पिसिआर परिक्षणका लागि स्वाब परीक्षण गर्न लगाउने गरिएको छ । त्यस्ता विरामीलाई प्रि आइसोलेशन वार्डमा भर्ना गरेर निगरानीमा राख्ने गरिएको छ ।

भेरी अस्पतालमा हरेक दिन साँझ ४ देखि ६ बजेसम्म चिकित्सकको सिफारिसको आधारमा शंकास्पद बिरामीको स्वाब संकलन गरेर पिसिआर टेष्ट गर्ने गरिएको छ । कोरोना संक्रमणसँगै ज्वरोका विरामी ह्वात्तै बढेपछि भेरी अस्पतालमा उपचारमा समस्या हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *