Main News

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

हिमालय टिभी
२०७७ भदौ २ गते १८:४०
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौं, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एकसय दुइ वर्षको उमेरमा आज निधन भएको छ।

घिमिरेको कपुरधारा स्थित आफ्नै निवासमा साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो । स्वास प्रश्वास समस्या देखिएपछि चार महिनादेखि अक्सिजन दिएर घिमिरेको घरमै उपाचार भइरहेको थियो ।

१९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे १३ बर्षको उमेरबाटै साहित्यमा लाग्नुभएको थियो ।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्य साधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका रुपमा पनि चिन्छन्। उहाँले राणाकालमा १९९४ सालमै नवमञ्जरी, प्रजातन्त्रकालमा २०१० सालमा घामपानी र २०१३ सालमा नयाँ नेपाल लेख्नुभएको थियो ।

घिमिरेको काविक यात्राको पहिलो कृति नव मञ्जरी विसं १९९४ सालमा प्रकाशित भएको थियो । गौरी राष्ट्रकवि घिमिरेको पहिलो शोककाव्य हो ।

साझा प्रकाशनले विक्रम संवत २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविता संग्रहित छन्। यसैगरी घिमिरेका गीतिनाटक मालती मङ्गले , हिमालपारि हिमालवारि, गीतसङ्ग्रह राजेश्वरी, इन्द्रकुमारी राष्ट्रनिर्माता, किन्नरकिन्नरी र निबन्ध संग्रह चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत प्रकाशित छन ।

राष्ट्रकवि घिमिरेलाई विक्रम संवत २०६७ सालमा पद्यश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पनि प्राप्त गर्नु भएको थियो ।

पछिल्लो पटक उहाँ ऋतंभरा महाकाव्य पूरा गर्ने लक्ष्यमा डट्नुभएको थियो । तर पूरा गर्न भने पाउनुभएन । घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविता जनजिब्रोमा झुण्डिएका छन् ।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपना राष्ट्रकविका चर्चित गीत हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *