कोरोना संक्रमण बढ्दो, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि संक्रमित
२ भदौ, २०७७, काठमाडौं । प्रदेश २ का पर्सा र बारामा कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित हुने क्रम पनि बढेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका ५५ र बाराका ११ गरी थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये २ जना लक्षण देखिएर नारायणी अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका पनि छन् ।
नारायणी अस्पतालकै एक कर्मचारी र वीरगन्ज विर्ताका एक चिकित्सक पनि संक्रमित भएको गण्डक कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरजकुमार सिंहले जानकारी दिनुभयो । पर्साको बहुदरमाई नगरपालिकाका एक स्वास्थ्यकर्मीकै कन्ट्याक ट्रेसिङ्गमा परेका २५ जनामा संक्रमण पाइएको छ ।
त्यसैगरी मारवाडी समुदायकी एक महिलाको कन्ट्याक ट्रेसिङ्गमा परेका ८ जना र नेपाली कांग्रेसका नेता तथा पर्साका पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्रीको कन्ट्याक ट्रेसिङ्गमा परेका ४ जनामा पनि कोरोना संक्रमण भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका पाँच सुरक्षाकर्मी र वडा प्रहरी कार्यालय विर्ताका २ जना सुरुक्षाकर्मीमा पनि संक्रमण भएको छ । पर्सामा संक्रमितको संख्या १ हजार ३ सय ७४ पुगेको छ । बारामा ४ सय ४६ जना संक्रमित भएका छन् ।
यता भरतपुर अस्पतालको कोभिड–नाइन्टिन प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ४२ सशस्त्र प्रहरी र ३ जना नर्स पनि छन् । सबैभन्दा बढी चितवनको राप्ती नगरपालिका वडा नम्वर ६ का ४२ जना छन् । त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना छन् ।
यस्तै पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पोखरा महानगरपालिकाका ४, नवलपरासी पूर्व र बाग्लुङका २–२ जना छन् । बाग्लुङका संक्रमितमा ६ वर्षका बालक पनि छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ६४ पुगेको छ ।
प्रतिक्रिया