Main News

सांसदको लोगोमा रमिता : स्वीकृत गर्नेमाथि कारवाहीको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १ गते २०:२७
सांसदको लोगोमा रमिता : स्वीकृत गर्नेमाथि कारवाहीको  माग (भिडियोसहित)

१ भदौं, २०७७ काठमाडौं । राज्यका तीन अंगमध्येको एक व्यवस्थापिकाभित्रका हरेक गतिविधिले थिति बसाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, राज्यको यही महत्वपूर्ण अंगले आफ्नो प्रतीक निर्माणमा गम्भीर हेल्चेक्रयाइँ गरेको छ ।

२० लाख भन्दा बढी खर्चेर बनाइएको संघीय संसदको लोगोमा यतिसम्म लापरवाही गरिएको छ की अध्यावधिक गरिएको नेपालको नक्सा र झण्डाकै स्वरुप बिगारिएको छ । संघीय संसद सचिवालयको यो लापरवाही यतिबेला निकै विवादमा परेको छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मकै भूमि समेटेर सरकारले नेपालको नक्सा जारी गरेसँगै संसदको प्रतिक चिन्ह पनि परिमार्जन गर्नु पर्ने थियो । त्यसै अनुसार संसद सचिवालयले बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो बनाउने जिम्मा दिएको थियो ।

नयाँ बन्ने लोगोको डिजाइन स्वीकृत हुने बेलामा यस्तो थियो । तर बनेर आउँदा यस्तो भयो ।

नेपालको फेरिएको नक्सा अनुसार परिमार्जन गरिएको भनेर बनाइएको लोगोमा नेपालको नक्सा र झण्डाको स्वरुप नै बिगारिएको छ । जसको अहिले निकै आलोचना भइरहेको छ ।

लोगोको बनावटलाई लिएर सामाजिक सञ्जालमा मात्र आलोचना भएको छैन । नेपाली कला र शिल्प माथिको भद्दा मजाक र यसलाई स्वीकृत गर्ने माथि कारवाहीको माग पनि गरिएको छ । केहीले भने कमिसनको चक्करमा लोगो भद्दा बनाइएको टीप्पणी गरेका छन् ।

लोगोको विषयमा नागरिक तहमा मात्र होइन स्वयम सांसदले पनि असन्तुष्टि जनाएका छन् । र उनीहरुले नेपाल र राष्ट्रिय झण्डाको अपमान गर्नेलाई दण्डित गर्नुपर्ने माग गरेका छन् ।

यतिमात्र होइन देश अफ्ठ्यारो परिस्थितिसँग गुज्रिरहेको अवस्थामा लोगोमा सुन र चाँदी प्रयोग गरेर सांसदलाई विवादमा तान्न खोजिएको उनीहरुको ठहर छ ।

तर लोगोका विषयमा भइरहेको आलोचनाप्रति संसद सचिवालयको फरक दावी छ । हातैले लोगो बनाइएको र यो मेसिनले बनाउने अन्य लोगो जस्तो सजिलो नभएको सचिवालयको तर्क छ ।

प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँको लागतमा सचिवालयले साढे तीन सय लोगो बनाएको छ । र यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ । सांसदको लोगोका नाममा गरिएको यस्तो भद्दा मजाकले हाम्रो काम गर्ने शैलीमाथि त प्रश्न उठाएकै छ । नेपालको कला र शिल्पकै पनि अपमान भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *