कोरोना संक्रमित बढ्दै गएपछि धनुषामा पनि निषेधाज्ञा जारी
१ भदौं, २०७७ धनुषाधाम । कोरोना संक्रमित बढ्दै गएपछि धनुषामा निषेधाज्ञा जारी भएको छ।
गएराति १२ बजेदेखि लागू हुनेगरी धनुषा जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
जनकपुरधाम र क्षिरेश्वरनाथ नगरपालिकाको केही भागमा लगाइएको निषेधाज्ञालाई अब जिल्लाभर नै लागू गरिएको छ। जिल्लाभर निषेधाज्ञा भदौ ७ गते आइतबार राति १२ बजेसम्म कायम रहनेछ ।
प्रशासनले जिल्लाभर एक हप्ताको लागि निषेधाज्ञा लगाए पनि सबै प्रकारका पसल बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ।
व्यापार व्यवसाय सञ्चालन गर्दा विक्रेताले पञ्जा, मास्क तथा स्यानिटाईजरको प्रयोग गरी सामाजिक दूरी कायम गरी मात्र सञ्चालन गर्न पाउने तथा क्रेतालाई समेत अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेका छ।
साथै घरभाडामा बस्ने स्वास्थ्यकर्मीलाई घरधनीले दुर्व्यवहार गर्ने गरेको बुझिएकोले त्यसो गरेको फेला परेमा कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।
प्रतिक्रिया