आज काठमाडौंसहित देशका अधिकांश स्थानमा मौसम बदली हुने
३२ साउन, २०७७ काठमाडौं । आज काठमाडौंसहित देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम देखिए पनि मौसम बदलीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
दिउँसो भने देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
महाशाखाका अनुसार आज देशभर मौसम आांशिकदेखि सामान्य बदली हुनेछ । काठमाडौं उपत्यकासहित गण्डकीदेखि पूर्व अर्थात् प्रदेश १, २, बागमती प्रदेशमा अहिले घाम लागे पनि प्रदेश ५, कर्णाली र सुदूरपश्चिममाचाहिँ अलि बाक्लो बादल देखिएको छ । तर अपराह्नपछि बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ ।
अहिले न्यून चापीय रेखा नेपालभन्दा टाढा दक्षिणतर्फ छ भने भारत बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
त्यसैका कारण बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया