रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

३० साउन, २०७७, मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाइ प्रहरीले पक्रेको छ ।
व्यक्ति अपहरण तथा शरीर बन्धक अभियोगमा खड्कालाइ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले आज घरबाटै पक्राउ गरेको हो ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट हटाएको थियो ।
अघिल्लो वर्ष साउनमा एउटा समूहले आफूलाई फोन गरेर २ करोड रुपैयाँ नदिए छोरी मारिदिने धम्की दिएको आरोप खड्काले लगाएपछि समूहमा रहेका व्यक्तिलाई नियन्त्रणामा लिने क्रममा काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलाएको थियो ।
प्रतिक्रिया