Main News

अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि, विदा नबस्न निर्देशन

हिमालय टिभी
२०७७ साउन २९ गते ७:४३
अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि, विदा नबस्न निर्देशन

२९ साउन, २०७७, काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फ गरी अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।

सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ ।

संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ अहिलेसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भएको छ । नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएको प्रवक्ता कडायतले जानकारी दिनुभयो । अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् ।

सशस्त्र प्रहरीतर्फ १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिनुभयो ।

यस्तै, नेपाली सेनातर्फ हालसम्म २ सय २४ जनामा संक्रमण पुष्टि भएकोमा ७८ जना उपचारपछि निको भइसकेका छन् भने अन्य विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *