विधान मिच्दा बहादुरी नठान्न देउवालाई पौडेलको चेतावनी
२८ साउन, २०७७, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा बहादुरी गरेको नठान्न चेतावनी दिनुभएको छ ।
आफ्नो असहमतिका बाबजुद सभापति देउवाले विभाग गठन र मनोनयन जारी राखेपछि पौडेलको प्रतिक्रिया आएको हो । देउवाका कारण अहिले कांग्रेस प्रजातान्त्रिक पार्टी हो कि होइन भन्ने प्रश्न उठेको पौडेलको टिप्पणी छ ।
गृहमन्त्री हुँदा पनि देउवाले कानून तोडेको र त्यसले मुलुक र प्रजातन्त्रलाई ठूलो क्षति पुगेको भन्दै पौडेलले देउवाको विगतको भूमिकामाथि पनि प्रश्न उठाउनुभएको छ ।
चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको पौडेलको आरोप छ ।
अरु सबै मिलेर अब देउवाको विकल्प खोज्नुपर्नेमा पौडेलले जोड दिनुभयो । तर पाका नेताहरुलाई विदा गर्नुपर्ने भन्ने युवा नेताको मागलाई भने उहाँले अस्वीकार गर्नुभयो ।
केही युवा नेताले वृद्ध पुस्तालाई विदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने माग गरिरहेका बेला पौडेलले त्यसबारे पनि प्रतिक्रिया दिनुभएको हो ।
प्रतिक्रिया