अवैध रुपमा नेपाल भित्राइँदै गरेको साढे २४ लाख भारतीय रुपैयाँ बरामद

२८ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको साढे २४ लाख भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका– १ को लिंकगेटभन्दा ४ सय मिटर पूर्व पालमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।
सशस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाइजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए ।
दशगजाभन्दा ५० मिटरभित्र नेपाली भूभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनिटाइजर र औषधि रहेको भन्दै गस्तीमा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।
तर सशस्त्रको टोलीले शंका लागि झोला हेर्न थालेपछि ति व्यक्ति रकमको झोला छोडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपति प्रहरी नायव उपरीक्षक सुशील कुमार शाहीले जानकारी दिनु भयो ।
बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी, नेपाली रुपैयाँ करिब ३९ लाख २० हजार रहेको शाहीले बताउनुभयो । बरामद रकम आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया