अब विदेशबाट ल्याइने नेपालीलाई काठमाडौंमै क्वारन्टिन गरिने

२८ साउन, २०७७ काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार संख्या कम गर्ने भएको छ।
यसअघि विभिन्न जहाज चार्टर्ड गरेर एकै दिन सयौँको उद्धार गरिए पनि अब त्यो संख्यामा कमी आउने भएको छ।
कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले अब विदेशबाट नेपाली ल्याइँदा काठमाडौंको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन पक्षलाई ख्याल गरेर ल्याइने बताउनुभयो ।
यसअघि उद्धार गरिएकालाई सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारसँगको समन्वयमा त्यसतर्फ पठाइने गरिएको थियो। तर अब भने उनीहरुलाई काठमाडौंमै क्वारेन्टाइन बनाएर राखिने गुरागाईंले बताउनुभयो।
क्वारेन्टाइनमा बसिसकेपछि पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने व्यवस्था मिलाइएको प्रवक्ता गुरागाईंको भनाइ छ ।
कोरोनाका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका आधा लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। वैदेशिक रोजगारीमा गएको १ वर्ष नपुगेकालाई सरकारले पूरै टिकट बेहोर्ने छ भने अन्यलाई ५० प्रतिशत टिकट खर्च सरकारले दिने भनेको छ।
प्रतिक्रिया