राजनीति

नेकपामा गुट मान्दिनँ भन्दै गुटकै वकालत (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते २०:०४
नेकपामा गुट मान्दिनँ भन्दै गुटकै वकालत (भिडियोसहित)

२५ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका ६१ जनाका सांसदले गुटमा नलाग्ने र पार्टी विभाजन रोक्ने घोषणा गरेपनि उनीहरु त्यो भन्दा माथि उठ्न नसकेको देखियो । हामी गुटमा लाग्दैनौं र विभाजन हुन्न दिन्नौं भनेर पत्रकार सम्मेलन गर्दै गर्दा कार्यक्रममै उनीहरु आरोप प्रत्यारोपमा उत्रिए ।

नेकपाका ६१ जना सांसदले ठूला नेताले पार्टी फूटाउन थालेको भन्दै आक्रोश सहित फूटपरस्त गतिविधि नगर्ने र गुटमा नलाग्ने सामूहिक प्रतिबद्धता जनाए । तर प्रतिबद्धता सार्वजनिक भए लगत्तै बोल्ने पालो आयो त्यतिबेला उनीहरुले त्यही प्रतिबद्धता भुले र गुटकै सदस्यका रुपमा प्रस्तुत भए ।

वरिष्ठ नेता नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले पार्टीभित्र अहिले गम्भीर सैद्धान्तिक संकट देखा परेको टिप्पणी गर्नुभयो । र, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्नुभयो ।

पार्टी एकता जोगाउन भन्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा झाँक्रीपछि बोलेका ओली पक्षीय सांसद विशाल भट्टराईले झाँक्रीको प्रतिवाद गर्नुभयो । ओली पक्षका सबै नेताले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालमाथि जसरी पद खोजेको आरोप लगाईरहेका छन, त्यसै गरी भट्टराईले प्रचण्ड–नेपाल समर्थक सांसदहरुकै अगाडि लडाइँ पदकै हो भन्नुभयो ।

भट्टराईपछि बोलेका प्रचण्ड पक्षीय सांसद गणेश पहाडीले पार्टीभित्रको संघर्ष विचार, विधि विधान र पद्धतिकै भएको दावी गर्नुभयो । उहाँका अनुसार ओली पक्षले जे जे भनेपनि पार्टी भित्र समस्या छ र त्यो विधि पद्धति स्थापित नहुँदा नै आएको हो ।

गुटमा लाग्दैनौं र पार्टी फूट्न दिन्नौं भन्ने नेकपाका सांसदहरुको प्रतिवद्धता एउटै कार्यक्रममै पनि लागु भएको देखिएन । यसले नेकपा भित्रको विवाद कति गम्भीर छ भन्ने प्रष्ट हुन्छ । किनकी गुटमा लाग्दैनौं भनेर उनीहरुले गुटकै प्रतिरक्षा गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्