Main News

काठमाडौंमै मास्क र भौतिक दूरी पालनामा बेवास्था (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते १९:५९
काठमाडौंमै मास्क र भौतिक दूरी पालनामा बेवास्था (भिडियोसहित)

२५ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट जोगिनका लागि बनाइएको मापदण्ड काठमाडौं उपत्यकामा प्रभावकारी रुपमा पालना नभएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा भौतिक दुरी पालना नभएको, मास्क नलगाएको र लगाउनेले पनि सही तरिकाले नलगाएको पाइएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनका क्रममा ३९ जनाको टोलीले दुई दिनसम्म काठमाडौंका तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलमा अवलोकन विधिबाट अध्ययन गरेका थिए । त्यस क्रममा थोरै ठाउँमा मात्र भौतिक दुरी पालना भएको पाइएको छ । मार्किङ गरिएका ३१ दशमलव २५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ ।

निजी र सरकारी अस्पतालहरुमा ओपीडी, फार्मेसी र टिकट काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिएको छ । तर कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ छैन । २० प्रतिशत अस्पतालमा मात्र भौतिक दुरी कायम भएको पाइएको छ ।

४ हजार ५ सय २ जनामा अवलोकन गर्दा ७२।१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क १५ दशमलव ८ प्रतिशतले लगाएका थिए । मास्‍क लगाउने २ हजार ७ सय ३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२ दशमलव ६६ प्रतिशत मात्र छ ।

साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशत ठाउँमा मात्र उपलब्ध छ । यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ । बाँकी ५० प्रतिशत सार्वजनिक यातायातमा यो मापदण्ड पालना भएको छैन । त्यसैले परिषदले स्थलमा अनुगमन गर्न सुझाव दिएको छ ।

सही तरिकाले मास्क लगायौँ, भौतिक दुरी कायम गर्‍यौ साबुन पानीले नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ । कोरोना संक्रमणबाट जोगिन सरकारले तयार पारेको मापदण्ड पालना गर्नु आफ्नो र आफ्नै परिवारका लागि हो भन्ने कसैले पनि नभुलौँ । अरुले भनेर हैन आफैँले जानेर स्वास्थय मापदण्ड पालना गर्नु हरेक नागरिकको कर्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *