Main News

कोरोना संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिँदै, कहाँ कति संक्रमित ?

हिमालय टिभी
२०७७ साउन २४ गते ८:१०
कोरोना संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिँदै, कहाँ कति संक्रमित ?

२४ साउन, २०७७ काठमाडौं । संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् ।

सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो । प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन् ।

६ हजार तीन सय ३० ‘एक्टिभ केस’ मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार ९ सय १९ अस्पतालबाहिर छन् । प्रदेश २ मा मात्रै १२ सय ९ जना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् ।

प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा छन् ।

काठमाडौं उपत्यकामा सरकारले तोकेका कोरोना उपचार हुने ६ वटा अस्पताल छन् । तीमध्ये दुईवटामा क्षमताभन्दा बढी संक्रमित पुगिसकेका छन् । एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० बेड क्षमता छ, त्यहाँ शुक्रबारसम्म ४७ संक्रमितको उपचार भइरहेको छ । सय बेड क्षमताको पाटन अस्पतालमा ६९, ६० बेड क्षमताको कीर्तिपुर आयुर्वेदिक अस्पतालमा ५५, ९० बेड क्षमताको काठमाडौं मेडिकल कलेजमा ८१ र आठ बेड क्षमताको धुलिखेल अस्पतालमा ६ संक्रमितको उपचार भइहरको छ ।

सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि क्षमताभन्दा बढी संक्रमित पुगेका छन् । ४० बेड क्षमताको यो अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ ।

त्यस्तै, २२ बेड क्षमताको मेची अञ्चल अस्पतालमा २२ संक्रमित नै उपचाररत छन् । तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा सबैतिरका अस्पतालमा उपचाररतहरूको तथ्यांक आउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *