Main News

हवाई उडान र लामो दुरीका गाडी चल्ने–नचल्ने अन्योल बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते ६:२४
हवाई उडान र लामो दुरीका गाडी चल्ने–नचल्ने अन्योल बढ्यो (भिडियोसहित)

२४ साउन, २०७७, काठमाडौं । भदौ १ गतेदेखि सुरु हुने भनिएको हवाई उडान र लामो दुरीको यातायात सञ्चालनबारे अन्यौल सिर्जना भएको छ ।

गएको चैतदेखि नै बन्द यी दुई क्षेत्र अझै नखोले आर्थिक रुपमा गम्भीर असर पर्ने प्रष्ट छ । तर खोलिहाल्दा समेत कोरोना संक्रमण नियन्त्रणबाहिर जान सक्ने जोखिम देखिएकाले के गर्ने भन्ने अन्योल बढेको हो ।

१ सय २० दिन लामो लकडाउनको अन्य सँगै अरु आर्थिक गतिविधि सुरु हुन थाले सरकारले भदौ १ गतेदेखि हवाई र लामो दुरीको सडक यातायात सञ्चालन गर्ने भनेको थियो ।

जस अनुसार विमान सेवा कम्पनीहरुले कोभिड नाइन्टिनविरुद्ध निर्देशिका बनाएर पूर्वअभ्यास गरिरहेका छन् । र उनीहरुले भदौ १ गतेदेखिका लागि टिकट विक्री पनि खुल्ला गरेका छन् ।

१२ वटा अन्तराष्ट्रिय वायुसेवा कम्पनीले त १८ विभिन्न गन्तव्यमा उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा प्रस्ताव राखिसकेका छन् । तर प्राधिकरणले अनुमति दिइसकेको छैन् र के गर्ने भनेर सरकारको निर्णयको पर्खाईमा देखिन्छ ।

यातायात व्यवसायीले लामो समयसम्म थन्काएर राखिएका गाडी मर्मत गरिरहेका छन् । तर कोरोना संक्रमण बढेका कारण यसअघिको निर्णय लागु गर्ने अवस्थामा सरकार देखिँदैन् ।

पछिल्लो समय बाक्लो जनघनत्व भएका शहरी क्षेत्रमै कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसित छलफल गर्नुभयो । त्यो छलफलमा विज्ञहरुले हवाई उडान र लामो दूरीको गाडी नचलाउन सरकारलाई सुझाव दिएका छन् । तर पनि सरकार पूर्व निर्णयबाट पछि हटेको छैन । सरकार कोरोना संक्रमणको पछिल्लो अवस्थाको समिक्षापछि मात्रै निर्णय गर्ने तयारीमा छ ।

हवाई उडान बन्द भएकै कारण विदेशमा ठूलो संख्यामा नेपाली अलपत्र छन् । अहिले फाट्टफूट भइरहेका चार्टर उडानमा महँगो पैसा तिरेर घर फर्कने उनीहरुको स्थिति छैन ।

त्यसैले उनीहरु नियमित उडान खुल्ने दिन गनेर बसेका छन् । लामो दुरीका गाडी नचल्दा र आन्तरिक उडान नहुँदा पनि उस्तै समस्या छ । तर पनि कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएपछि १६ वटा जिल्ला सिल गरिएको छ ।

संक्रमितको संख्या बढ्ने क्रम अन्य जिल्लामा समेत रोकिएको छैन् । यस्तो स्थितिमा सरकारले लामो दुरीको यातायात र हवाई सेवा खुल्ला गर्नु अघि थप तयारी गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *