काठमाडौंमा कोरोना रोकथामका लागि नयाँ मापदण्ड बन्दै

२३ साउन, २०७७, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड बनाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योग, कलकारखाना, होटल, रेस्टुरेन्ट, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो ।
नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस, भेटघाट, समूहगत हिँडडुल, छलफललगायतलाई परिस्थिति सहज नभएसम्म स्थगन गर्नेबारे पनि छलफल भइरहेको छ ।
लकडाउन व्यवस्थित गर्नेसम्बन्धी यसअघि जारी गरिएको सुरक्षा मापदण्ड र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड तथा सरकारबाट लकडाउनपछि विभिन्न मितिका तय गरिएका आदेशको पूर्ण पालना गराउन पनि सेवा प्रवाहसम्बन्धी नयाँ मापदण्ड ल्याउन आवश्यक भएको तीनवटै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
सर्वसाधारणको भीडभाड हुने सरकारी कार्यालय, बैंक तथा दैनिक उपभोग्य वस्तु बिक्री स्थलमा सेवा लिने व्यक्तिका लागि अस्थायी मापदण्ड बनाउन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
यसका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छिट्टै निर्णय गरिने उहाँको भनाई छ । लकडाउनकै ढाँचामा नगए पनि सुरक्षा र स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमाथि अब दण्ड र जरिवानाको नीति लिइने दाहालको भनाइ छ ।
प्रतिक्रिया