Main News

कोरोना संक्रमण बढ्दोः सञ्चालन होला लामो दूरीका यातायात र हवाई उडान (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते ७:२५
कोरोना संक्रमण बढ्दोः सञ्चालन होला लामो दूरीका यातायात र हवाई उडान (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । देशैभर कोराना भाइरसको संक्रमण समुदायस्तरमा फेलँदै जाँदा सरकारले सतर्कता बढाएको छ । तर झण्डै ४ महिनापछि खोलिएको लकडाउनले बजारमा बढेको चहलपहल घटेको छैन । कोरोनाको बढ्दो जोखिम रोकथामका लागि सरकारले के गरिरहेको छ त ?

साउन र भदौमा संक्रमण उच्च हुने सरकारले यसअघि नै आँकलन गरेको थियो । तर त्यो आँकलनका बिचमा पनि सरकारले भदौ १ गतेदेखि लामो दुरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालन गर्ने तयारी गरेको थियो ।

चैतमा रोकिएका तर अहिलेसम्म सञ्चालन नभएका क्षेत्र पनि भदौ १ गतेदेखि खुल्ला गर्ने सरकारको घोषणा थियो । चैत, वैशाख र जेठमा झण्डै ३ महिना कडा लकडाउनमा बसेका नागरिक यो घोषणाबाट केही उत्साही पनि भए ।

तर पछिल्लो समय फेरि कोरोना संक्रमण बढेपछि ती क्षेत्र खुल्ने संभावना घटेको छ । किन कि सरकारले कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै कडाई गर्न थालेको छ । र कोरोना रोकथामका लागि अब अपनाउने उपायबारेमा कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आन्तरिक तयारी सुरु गरेको छ ।

गत मं गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग यसबारे छलफल गरिसक्नुभएको छ । छलफलमा केही विज्ञले त तत्काल लकडाउन गर्न र कर्फ्युसमेत लगाउन सुझाव दिए । केहीले भने यसअघिको लकडाउनले नागरिक भोकै मर्न बाध्य भएकाले लकडाउन नै अन्तिम बिकल्प नभएको बताए ।

त्यो छलफल अघि नै संक्रमण धेरै देखिएका वीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायतका ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका थिए । र अहिले १५ जिल्लामा निषेधाज्ञा र लकडाउन छ । अवस्था हेरेर स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउन लागू गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ ।

दुई सय भन्दा बढी कोरोना संक्रमित देखिएका जिल्लामा अत्यावश्क बाहेकका सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडूल गर्न निषेध गरिएको छ ।

यसअघि लकडाउनका बेला पासको दुरुपयोग गर्दै रातारात मान्छे ओहोर दोहोर गरेका थिए । त्यसैले अहिले रातिमा हिँडडूल गर्न निषेध गरिएको हो । गृहमन्त्रालयको यो निर्णय प्रहरीले कडाइँका साथ कार्यान्वयन गर्नेछ ।

कोरोनाको कहर फेरि बढ्नुमा सरकारसँगै नागरिक पनि जिम्मेवार छन् । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने सरकार र सरकारको आग्रह नमान्ने नागरिकको नानीदेखिको बानी परिवर्तन नगरेमा जोखिम अझै बढ्नेछ । त्यसैले यो बेला सरकारले परीक्षण, आइसोलेसन तथा उपचारमा ध्यान दिन आवश्यक छ भने नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउनु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *