प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री यादवलाई कोरोना संक्रमण

२२ साउन, २०७७, धनुषा । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब परीक्षणका क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले जानकारी दिनुभएको छ । उहाँले गत साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब दिनुभएको थियो ।
कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण भने नदेखिएको मन्त्री यादवले जानकारी दिनुभयो । संक्रमण देखिएसँगै मन्त्री यादव निवासममै आइसोलेशनमा बस्नुभएको छ ।
मन्त्री यादवसँगै उहाँका सवारी चालक, व्यक्तिगत सुरक्षा गार्ड, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि संक्रमण पुष्टि भएको बताइएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन मन्त्री यादव काठमाडौं आउनुभएको थियो ।
सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायतको सहभागिता थियो । बैठक सम्पन्न भएपछि प्रधानमन्त्री, गृहमन्त्री सहित सात वटै प्रदेशका आन्तिरिक मामिला मन्त्री र उच्च प्रहरी अधिकारीले बिना मास्क सामुहिक तस्बिर खिचाएका थिए ।
एक साताअघि मन्त्री यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, पर्यटन मन्त्री रामनरेश रायसहितको टोली सिरहाको कमलानदी, घुर्मी नदी, बतहा नदी, गागन नदीलगायतको क्षति निरिक्षण गर्न सिरहा पुगेको थियो ।
त्यस क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रदेश सांसद, कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र केही पत्रकार सहभागी थिए ।
काठमाडौं बसाइकै क्रममा मन्त्री यादवले अन्य मन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले दुई साताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया