Main News

नेपालमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु पुष्टि

हिमालय टिभी
२०७७ साउन २१ गते १८:५६
नेपालमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु पुष्टि

२१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा २र२ जना तथा काठमाडौंमा १ जनाको ज्यान गएको हो । यो सँगै कोरोनाबाट ज्यान गुमाउने ६३ जना पुगेका छन् ।

मोरङको विराटनगर ९ गुद्रीका पुरुष र रंगेली ८ का पुरुषको मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । कोशी अस्पताल विराटनगरमा गएराति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

रंगेलीका पुरुषको विहान मृत्यु भएको थियो । दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालको आइसोलेशनका इञ्चार्ज डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । दुबैको मृत्यु पछि कोरोना पुष्टि भएको हो ।

यसैगरी काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाहीकी ६५ वर्षकी महिलाको मृत्यु भएको हो । स्क्रब टाइफस र निमोनियाकी विरामी महिलाको उपचारकै क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिनुभयो ।

यसैगरी, वीरगञ्जको हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि गएराति भर्ना भएका पुरुषको बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिहले जानकारी दिनुभयो ।

साउन १८ गते नमुना संकलन गरिएका पुरुषमा १९ गते कोरोना पोजेटिभ आएको थियो। डाक्टर सिंहका अनुसार ती व्यक्ति मधुमेहका बिरामी थिए । यस्तै, पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार राति पटकपटक बान्ता हुन थालेपछि उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंज लैजादै गर्दा उनको गएराती बाटोमै मृत्यु भएको हो । उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी नारायणी अस्पतालमा पठाइएको थियो।

राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । युवतीको स्वाब रिपोर्ट पोजिटिभ आए पनि मृत्यु शंकास्पद देखिएको छ । पोखरीया ८ जगतपुर घर भएकी ती अविवाहित युवती गर्भवती भएको पनि खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *