Main News

सांस्कृतिक गाईजात्रालाई माथ गर्ने राजनीतिक गाईजात्रा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते २०:५०
सांस्कृतिक गाईजात्रालाई माथ गर्ने राजनीतिक गाईजात्रा (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । आज गाईजात्रा । सामान्य भाषामा भन्दा हाँस्ने हँसाउने दिन । तर देशका पछिल्ला राजनीतिक घट्नाक्रमले जनता यति निरास छन की उनीहरु असली गाइजात्रामा हाँस्न पनि सकेका छैनन् ।

हाँस्यकलाकार मनोज गजुरेलले भनेजस्तै राजनीतिक गाइजात्राले यतिबेला देशनै तरंगित छ । सत्ताको बागडोर सम्हालिरहेको नेकपाभित्रको कलह होस् या प्रतिपक्षी कांग्रेसभित्रको विवाद । जनता कोरोना भाइरसको त्राससँग जुधिरहेका बेला नेता भने कुर्सी बचाउने खेलमा छन् । त्यसैले हाँस्ने गाइजात्राको दिन पनि जनता राजनीतिक गाइजात्राले निरास छन् ।

गणतन्त्र आएको लामै समय भयो । तर जनताकै सहारामा जनताकै लागि भनेर ल्याइएको गणतन्त्र जनताका लागि भएन । नेताका लागि मात्र भयो । नेता र जनताबीचको दूरी बढ्यो । त्यसैले जनताले हिजोआज हरेक दिन गाइजात्रा मनाउनु परेको महशुस गर्न थालेका छन् ।

तर यसमा केहीको भने फरक धारणा छ । उनीहरूका नजरमा चुन्नु नपर्ने चुनिए । जसले गर्दा हरेक दिन गाइजात्रा हेर्नुपरेको छ ।

विकृति, विसंगतिलाई हाँस्य व्यंग्यमार्फत प्रहार गर्ने एक सशक्त माध्यम हो गाइगाजा । त्यसैले हरेक वर्ष हाँस्यकलाकारहरू ती विकृति बिसंगतिविरूद्ध हास्य व्यङ्ग्य गर्दै प्रहार गर्छन् । यो वर्ष कोरोना भाइरसका कारण स्वरूप केही फेरिएको छ । हाँस्यकलाकार विभिन्न भर्चुअल माध्यमबाट जनतालाई हसाउन खोजिरहेका छन् ।

तर जनतामा बढ्दो निराशा र आक्रोशले उनीहरु पनि दबावमा छन । त्यसैले उनीहरु आफ्ना प्रस्तुति अझै धारिलो बनाउन चाहान्छन् । र आफ्ना प्रहार पचाउन तयार रहन नेतालाई सुझाव दिन्छन् ।

गाईजात्रा संस्कृति हो । तर यो सांस्कृतिक गाईजात्रालाई राजनीतिक गाईजात्राले ओझेलमा पारेको छ । हसाउँनुपर्ने कलाकार जनताका आँशु पुछ्दै हिँडेका छन् । तर जनतालाई रुन दिँदैनौं भन्नेहरु लोक हसाउँदै आफ्नै स्वार्थमा मस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *