स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेमाथि कारबाही गर्न देउवाको माग

२० साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार गर्नेलाई छानविन गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार कोभिड नाइन्टिन नियन्त्रण तथा रोकथामका लागि भएको विज्ञसहितको छलफलमा सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविन गरी कारबाही गर्नु पर्नेसहित ७ बुँदे सुझाव दिनुभयो ।
सभापति देउवाले प्रत्येक प्रदेशमा एक लाख नयाँ पिसिआर परिक्षण तत्काल प्रारम्भ गर्न आग्रह गर्नुभयो । उहाँले नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाको आवागमनमा कडाई र सिल गर्न सुझाव दिनुभयो ।
सभापति देउवाले आमरण अनशनमा बसेका युवाको माग सम्बोधन गर्न र वर्ग, क्षेत्र र परिस्थिति हेरि राहत उपलब्ध गराउन सरकार समक्ष माग गर्नुभयो ।
प्रतिक्रिया