Main News

कोरोना संक्रमित बढेपछि विराटनगरमा लकडाउन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते २०:१६
कोरोना संक्रमित बढेपछि विराटनगरमा लकडाउन (भिडियोसहित)

१६ साउन, २०७७, विराटनगर । प्रदेश १ का तराईका जिल्लामा कोरोना संक्रमणको दर बढ्दो छ । ठूला सहरमा दिनानुदिन संक्रमित थपिने क्रम जारी छ । पहिले भारत र तेस्रो देशबाट आएकामा मात्र संक्रमण देखिए पनि पछिल्लो पटक स्रोत पहिचान नभएका संक्रमितको संख्या बढेपछि प्रदेश र स्थानीय सरकारलाई टाउको दुखाइ भएको छ । विराटनगर महानगर लगायतका क्षेत्रमा पुनह लकडाउन घोषणा गरिएको छ ।

भारतसंग सिमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै पछिल्लो समय पुनः लकडाउन गर्ने देखि प्रभावित क्षेत्रमा शिल गर्ने क्रम चलिरहेको छ । विराटनगर महानगर क्षेत्रमा पुनह लडकलाउन गरिएको छ । महानगरले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी आगामी भदौ १ गतेसम्म लकडाउन घोषणा गरेको हो ।

सुनसरीको धरान, इटहरी र इनरुवामा अति आवश्यक बाहेकका सेवामा टाइम कार्ड लागु गरिएको छ । कतिपय वडा शिल गरिएको छ । धरान उपमहानगरपालिकाबाट प्रदान गर्ने सेवा समेत तत्काललाई बन्द गरिएको छ । छिमेकी मुलुक भारतसँग जोडिएका प्रदेशका जिल्ला झापा, मोरङ, सुनसरी र इलाम संक्रमणको सबैभन्दा धेरै जोखिममा रहेको आंकलन गरिएको छ । यी जिल्लाका २० स्थानीय तहलाई संक्रमणको उच्च जोखिममा रहेको मानिएको छ ।

प्रदेश सरकारले उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रलाई रेड, एल्लो र ग्रिनजोनका रूपमा वर्गीकरण गरेर काम अघि बढाएको छ । सामाजिक विकास मन्त्रालयले गरेको अध्ययनले प्रदेश १ को राजधानी विराटनगर संक्रमणको जोखिममा छ ।

यहाँ शुक्रबारसम्म संक्रमितको संख्या १ सय नाघेको छ । ८ चिकित्सकसहितका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएपछि विराटनगरमा समुदायमा संक्रमण भएको महानगरको जनस्वास्थ्य महाशाखाको आशंका छ ।

पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै सचेतना आवश्यक भएको जनस्वास्थ्य विज्ञको पनि सुझाव छ । प्रदेशका भारतसँग सीमा जोडिएका जिल्ला सहित विराटनगर महानगरमा खतराको घण्टी बजिसकेको जनाउँदै विज्ञले संक्रमण रोकथाम र नियन्त्रणका लागि पुनः लकडाउनमा जान सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश सरकारको तथ्यांक अनुसार प्रदेश १ मा भारतका विभिन्न नाका भएर आएकामा अधिक संक्रमण देखिएको छ । यो दर कुल संक्रमित संख्याको ६८ प्रतिशत छ ।
भारतबाहेक खाडीसहितका अन्य मुलुकबाट आउने संक्रमित १८ प्रतिशत छन् । देशभित्रै संक्रमण देखिएका १४ प्रतिशत छन् । र यो संख्या निरन्तर बढीरहेको छ । पछिल्लो पटक संक्रमितमा लक्षण पनि देखिन थालेको छ । प्रदेशमा संक्रमितको संख्या १ हजार नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *