Main News

कोरोना संक्रमण्बाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५४ पुग्यो

हिमालय टिभी
२०७७ साउन १६ गते ७:५७
कोरोना संक्रमण्बाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५४ पुग्यो

१६ साउन, २०७७, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ बजेर ४० मिनेटमा निधन भएको डाक्टर निरज सिंहले जानकारी दिनुभयो । ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।

त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै वीरगञ्जमा घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो । हिजो बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताउनुभयो ।

मृतकसहित हिजो पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालमा कार्यरत २ जना स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *