Main News

नेपालमै बस्न पाउनुपर्ने माग गर्दै यसरी भक्कानिए विदेशी पर्यटक (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते १३:२२
नेपालमै बस्न पाउनुपर्ने माग गर्दै यसरी भक्कानिए विदेशी पर्यटक (भिडियोसहित)

१३ साउन, २०७७ काठमाडौं । लकडाउन अवधिभर आनन्दसँग बसेका पर्यटक अहिले छटपटाउन थालेका छन् । धेरै पर्यटकको भिसा अवधि सकिएकाले अन्तरराष्ट्रिय उडान खुले पछि उनीहरु नेपालबाट फर्किनुपर्छ ।

तर,कैयौं पर्यटक आफ्नो देश फर्कन चाहँदैनन् । पोखरामा उनीहरुले पत्रकार सम्मेलन नै गरेर लकडाउन अवधिको समय गणना गरेर नेपालमै बस्न पाउने व्यवस्था गरिदिन माग गरेका छन् ।

लकडाउन खुले पनि पोखरामा बस्दै आएका विदेशी पर्यटक स्वदेश फर्कन अनिच्छुक देखिएका छन् । उनीहरुले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी लकडाउन अवधिको समय जति नै थपिदिन आग्रह गरेका छन् ।

पोखरामा अहिले २ सय ५० जति पर्यटक छन् । कोरोना संक्रमण रहेको अवस्थामा यात्रा गरेर जाँदा जोखिम बढ्ने उनीहरुको भनाइ छ ।

विभिन्न देशबाट नेपाल घुम्न आएका ति पर्यटक कोही आफ्नो देश फर्कन चाहँदैनन् । कोही चाहेर पनि स्वदेश फर्कन सक्ने अवस्थामा छैनन् । तर, यो महामारीमा नेपालमा बस्न पाएकोमा उनीहरु निकै खुशी छन् ।

अमेरिका, युरोप, इटली, रुस लगायतका पर्यटक पोखरामा छन् । ती देशमा अहिले कोरोना संक्रमण दर उच्च छ । आफ्नो देशको अवस्था सम्झेर पत्रकार सम्मेलनमा केही पर्यटकले आँशु नै झारे ।

पश्चिमाञ्चल होटल संघले पनि नेपालमा रहेका पर्यटकको भिसा अवधि बढाउन सरकारलाई आग्रह गरेको छ । सरकारले अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरिरहेको अवस्थामा नेपालमा रहेका पर्यटकलाई जबरजस्ती फर्काउन नहुने संघको तर्क छ ।

नेपालमा रहेका अधिकांश विदेशी पर्यटकले आफ्नो देशभन्दा यही सुरक्षित ठानेका छन् । यात्रा र ट्रान्जिट उच्च जोखिममा रहेको अनि आफूहरु यात्राका क्रममा संक्रमित हुने हो की भनेर उनीहरु सशंकित छन् । नेपाल रहनका लागि आवश्यक सबै प्रक्रिया पुरा गर्न तयार रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *