Main News

चेपाङका घरमा आगोः मन्त्री बस्नेतमाथि प्रश्नै प्रश्न (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १२ गते २०:२२
चेपाङका घरमा आगोः मन्त्री बस्नेतमाथि प्रश्नै प्रश्न (भिडियोसहित)

१२ साउन, २०७७ काठमाडौं । चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले साउन ३ गते माडीको कुसुम खोलाका २ घरमा आगो लगायो । यो घटनाको सर्वत्र विरोध भइरहेको छ । तर संघीय सरकारकै मन्त्रीले भने उनीहरुको घरमा नभई गोठमा आगो लगाइएको भन्दै झुट बोलिरहेका छन् ।

यो चितवन माडीको कुसुम खोलाको चेपाङ बस्ती हो । यही बस्तीका २ वटा घरमा चितवन राष्ट्रिय निकुञ्जबाट गएको टोलीले साउन ३ गते आगो लगायो । घरमा आगो लगाई दिएपछि अहिले उनीहरुको बिचल्ली भएको छ ।

चितवनको माडीबाट २ सय किलोमिटर टाढाको सिंहदरबारलाई उनीहरुको पीडा थाहा छैन । कुनै बेला गोठमै बसेर राजनीति गरेर सिंहदरबार पसेका बनमन्त्री शक्ति बस्नेतका अनुसार निकुञ्जले आगो लगाएका ती घर थिएनन् । ती त गोठ थिए । गोठमा खासै सामान पनि थिएन । तर आगो लगाएको भने वनमन्त्रीले हाकाहाकी स्वीकार गर्नुभएको छ ।

मन्त्री ज्यूले आफूले पाएको जानकारीका आधारमा आईतवार संसदको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा घरमा नभई गोठमा आगो लगाइएको बताउनुभयो । तर कुनै बेला गोठ र ओढारमा बसेर जनताको मुक्तिका लागि भन्दै लडेका उहाँले गरिबको घर नै गोठ हो भन्ने भुल्नुभयो ।

गरिबको ओछ्याउना नै गुन्द्री हो भन्ने भुल्नु भयो र गरिबको निवासमा अन्नपात र लत्ताकपडा हुन्छ भन्ने पनि भुल्नुभयो । सिंहदरबारमा बसेका मन्त्रीले त्यो भुले पनि आम नागरिकले मन्त्री बस्नेतको विगत भूलेका छैनन । त्यसैले नागरिकले मन्त्रीको बिगत सम्झाउने कोशिस गर्दै सामाजिक संजालमा उहाँको पुरानो तस्विर राखिदिएका छन, जसको उद्देश्य मन्त्री बस्नेतलाई बिगत सम्झाउनु हो ।

वन मन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारबाट चेपाङका बस्ती देख्नुभएन तर माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल भन्नुहुन्छ, जलाइएको घर नै हो र यो अपराध हो । त्यसैले दोषीमाथि कारवाही गर्न उहाँको माग छ ।

जुन समितिमा मन्त्रीले चेपाङका घरमा आगो लगाएको होईन, भनेर दावी गर्नुभयोऽ त्यही समितिले मन्त्रीको दावीलाई गलत ठहर गर्यो । र, भन्यो चितवन माडीको चेपाङ बस्तीमा मानवता विरोधी अपराध भएको छ ।

संसदीय समिति र माडी नगरपालिकाले घटनाको छानविन गर्न माग गरे पनि बन मन्त्री बस्नेतलाई चेपाङमाथि कुनै अन्याय र अत्याचार भएको छैन भन्ने लागेको छ । शायद सिंहदरबारबाट नागरिकको पीडा देखिन्न होला । र, त्यसैले भनिएको होला सत्ताले नागरिकको दुख देख्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *