Main News

स्याङ्जाका प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १२ गते १७:४७
स्याङ्जाका प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १ सय ३९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ । एसपी विमलराज कँडेलसहितका १८ जना प्रहरीमा संक्रमण देखिएको हो ।

एसपी कँडेलले आफु क्वाटरमै बसेर जिल्लाको सुरक्षा निगरानी गर्ने बताउनुभयो । अन्य प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका स्थित कालीका सामुदायिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

साउन ६ गते ३ जना प्रहरीमा संक्रमण देखिएपछि कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो । १ सय जनाको स्वाब संकलन गरिएकोमा ५० जनाको परीक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् ।

ठुलो संख्यामा प्रहरी संक्रमित भेटिएपछि जिल्लामा संक्रमण समुदायस्तरमै फैलिएको आशंका गरिएको छ । स्याङजामा अहिलेसम्म संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ । यस्तै पोखराको मणिपाल अस्पतालमा कार्यरत एक चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक प्रदेश २ र सुदूरपश्चिममा बढी संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं र ललितपुरमा पनि ३(३ जना नयाँ संक्रमित भेटिएका छन् ।

दैलेखमा २८, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०(१० संक्रमित थपिएका छन् । वैतडीमा ४, कास्कीमा ३, सल्यान र लमजुङमा २(२, सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतमा १(१ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६ सय २६ जना संक्रमणमुक्त भएर विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *