Main News

समुदायमा कोरोना फैलिएको आशंकामा झापामा मास टेस्टिङ शुरु

हिमालय टिभी
२०७७ साउन १२ गते १२:५४
समुदायमा कोरोना फैलिएको आशंकामा झापामा मास टेस्टिङ शुरु

१२ साउन, २०७७ झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा मास टेस्टिङ शुरु गरिएको छ ।

मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो ।

पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभयो ।

गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का गरिएको छ ।

आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिनुभयो ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर आइसकेको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् ।

अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *