Main News

विराटनगरमा समुदायमा नै कोरोना संक्रमण, संक्रमण रोक्न के छ तयारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ११ गते १९:५४
विराटनगरमा समुदायमा नै कोरोना संक्रमण, संक्रमण रोक्न के छ तयारी ? (भिडियोसहित)

११ साउन, २०७७ विराटनगर । कोरोनाको कहरबाट सुरक्षित मानिएको प्रदेश एकको राजधानी विराटनगरमा केहीदिनयता संक्रमणको दर बढ्दै गएको छ।

विराटनगर महानगरपालिकामा भेटिएका संक्रमितको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन । त्यसैले महानगरपालिकाले समुदाय स्तरमै कोरोना संक्रमण पुगेको निष्कर्षसहित आवश्यक सावधानी अपनाउन थालेको छ ।

आइतबार मोरङमा ३१ जनामा कोरोना संक्रमण देखियो । जसमध्ये १९ जना प्रहरी छन् । यसअघि गत बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक, चिकित्सक र विराटनगर–६ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो पटक विराटनगरमा संक्रमण देखिएका केही बाहिरबाट आएका भए पनि अधिकांश विराटनगरकै हुन् । उनीहरुको संक्रमण श्रोत पत्ता लागेको छैन ।

महानगरपालिकाको कोभिड नाइन्टिन उच्चस्तरीय समन्वय समितिको बैठकले पछिल्लो संक्रमणले महानगरपालिकाभित्र समुदायमा कोरोना पुगेको निश्कर्ष निकालेको छ । उसले कोरोना संक्रमण रोकथामका लागि आवश्यक सावधानी अपनाउन निर्णय पनि गरेको छ ।

कोरोना रोकथामका लागि तत्कालै कन्ट्याक्ट ट्रेसिङ तीब्र पार्ने, क्वारेन्टाइन र आइसोलेशनको क्षमता बढाउने, मास्क अनिवार्य प्रयोग गराउने र भारतीय सीमा क्षेत्रमा झन कडाई गरिनेछ ।

यस्तै आइसीपीबाट आउने ट्रकका चालकलाई गन्तव्यमा नपुगुन्जेल कतै पनि रोक्न नदिने निर्णय गरेको छ ।

त्यसैगरी विराटनगरभित्रका व्यापारीले अनिवार्य मास्क लगाउने, कुनैपनि राजनीतिक दलले सभा सम्मेलन नगर्ने र साप्ताहिक हाटबजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *