११ साउन, २०७७ काठमाडौं। पत्नी हत्यामा दोषी ठहर गरिएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाका सम्बन्धमा भएको फैसलामाथि परेको पुनरावलोकन निवेदनको सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको छ ।
सर्वोच्च अदालतको अभिलेखअनुसार, गत शुक्रबार दर्ता भएको पुनरावलोकनको निवेदनमाथि आज सुनुवाइ हुनेछ । आजै तीन सदस्यीय इजलासले निवेदनमाथि अध्ययन गरी पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ ।
महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनको निवेदन दिएपछि सर्वोच्चले सुनुवाइका लागि पेसी तोकेको हो । चौतर्फी आलोचना भएपछि प्रधानन्याायधीश चोलेन्द्रशमशेर जबराले निवेदन दर्ता हुनासाथ तत्काल सुनुवाइको मिति तोकेर विवादलाई मत्थर पार्ने प्रयास गर्नु भएको हो ।
मुद्दाको पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशमा हुन्छ । पुनरावलोकनको निवेदनमा सुनुवाइका लागि यति छिट्टै पेसी तोकिएको यो विरलै घटना हो । सर्वोच्च अदालतले निवेदन सुनुवाइमा देखाएको तत्परताले प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीमाथिको नैतिक दबाब तत्कालका लागि टर्ने देखिन्छ ।
निवेदन सुनुवाइको प्रक्रियामा अघि बढेपछि त्यो विचाराधीन विषय बन्न पुग्ने छ । सैद्धान्तिक रूपमा सर्वोच्च अदालतमा विचाराधीन विषयमाथि अन्यत्र बहस गर्न पाइँदैन । दुवै जनामाथि छानबिन र महाभियोगको मागलाई मत्थर गर्नसमेत सुनुवाइका लागि हतारमा पेसी तोकिएको कानूनका जानकारहरुले बताएका छन् ।
जिल्ला र तत्कालीन पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद सजाय तोकेका थिए।
तर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको संयुक्त इजलासले आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार कारागारबाट छुटेका थिए ।