Main News

मेलम्चीको सुरुङ परीक्षणमा नटबोल्ट फुत्किएर घटना भएको छानबिनको निष्कर्ष

हिमालय टिभी
२०७७ साउन ११ गते ८:२२
मेलम्चीको सुरुङ परीक्षणमा नटबोल्ट फुत्किएर घटना भएको छानबिनको निष्कर्ष

११ साउन, २०७७ काठमाडौं । मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको पाइएको छ ।

सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ ।

सो घटनापछि हाल पानी पठाउने काम स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको र पानी पठाउने काम छानबिनका लागि गठन गरिएको अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आँकलन छ । खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो ।

समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दुवाडीले नटबोल्ट फिटिङ र गेट फिटिङमा समस्या हुन सक्ने बताउनु भएको छ । अव केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने दुवाडीको भनाइ छ ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ ।

असार ३० गते मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ को सुरुङ बाँध फुटेर मानवीय र भौतिक क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *