झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१० साउन, २०७७ झापा । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरीका १८ सहित झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
जसमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीमा कार्यरत एक महिलासहित १८ जनामा कोरोना पुष्टि भएसँगै क्याम्पलाई पूर्ण सील गरिएको मेचीनगर नगरपालिका सामाजिक बिकास समितिका संयोजक नविन बरालले जानकारी दिनुभयो ।
झापामा शुक्रवार बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३–३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो । यो सँगै झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।
पूर्वी नाकामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । थप संकर्मण फैलन नदिनका लागि झापामा के तयारी भइरहेको र संक्रमितको अवस्था कस्तो छ ।
प्रतिक्रिया