Main News

वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा : सेना परिचालन हुने (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते २०:०१
वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा : सेना परिचालन हुने (भिडियोसहित)

९ साउन, २०७७ पर्सा । सरकारले कोरोना संक्रमण समुदायमा नफैलिएको दावी गरिरहेका छ तर पर्सामा समुदायमा नै संक्रमण फैलिएको पाइएको छ । वीरगञ्जमा र्‍यान्डम परीक्षण गरिएकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो एक सातामा दुई जना डाक्टर र अस्पतालमा अरु नै रोगको उपचार गराइरहेकामा पनि संक्रमण देखिएको छ । समुदायमा संक्रमण देखिएपछि वीरगञ्जमा निशेधाज्ञा जारी गरिएको छ । सरकारले देशभर कोरोना संक्रमण घटिरहेको तथ्यांक सार्वजनिक गरेको बेला विरगञ्जमा कसरी संक्रमण फैलियो त ?

कोरोना संक्रमितको उपचारमा खटिएका नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह । सिंहका अनुसार वीरगञ्जका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैले कोरोना संक्रमण देखिएका वीरगञ्जका स्वास्थ्य संस्थामा सावधानी अपनाइएको छ । उहाँका अनुसार नेपाल भारतबीच हुने आउजाउ नरोकिएका कारण वीरगञ्जमा कोरोना संक्रमण बढेको हो ।

सरकारले लकडाउन खुल्ला गरे पनि सीमा नाका खुल्ला गरेको छैन । पर्सामा पर्ने एक सय सात किलो मिटर खुल्ला सीमानाको अधिकांश ठाउँमा गाउँ र बस्ती छन् ।

भारतमा अलपत्र नेपालीले वीरगञ्जको मुख्य नाका प्रयोग गरेर आउन पनि पाउँछन् । तर त्यसरी आउँदा झन्झट हुने भन्दै सीमाका गाउँ र बस्ती हुँदै भारतबाट नागरिक भित्रिएकाले संक्रमण बढेको हो । त्यसैले सीमा क्षेत्रका बासिन्दाले नाकामा कडाइ गर्न आग्रह गरेका छन् ।

वीरगञ्जमा स‌ंक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रशासन सक्रिय भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेसम्मका लागि वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ । उसले सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गर्दै नेपाली सेनालाई समेत प्रयोग गर्ने निर्णय गरेको छ ।

पर्सामा बिहीबार ५ जना थुनुवासहित ३१ जनामा संक्रमण पुष्टि भयो । ति मध्ये कतिपयमा लक्षण देखिएको थियो । आफै परीक्षणका लागि पुगेकामा पनि संक्रमण देखिएको छ ।

पछिल्लो पटक भेटिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्रि छैन । यसले पनि संक्रमण समुदायस्तरमै फैलिएको देखाउँछ । अब त्यसलाई रोक्न प्रशासनले चालेको कदम कत्तिको प्रभावकारी हुन्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *