अपराध संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन डा. भट्टराईको माग

९ साउन, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर अपराधका संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ ।
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईको यस्तो भनाइ आएको हो।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नु पर्ने पनि बताउनु भएको छ ।
पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ!सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?
— Baburam Bhattarai (@brb1954) July 23, 2020
देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचनका लागि ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन आग्रह गर्नु भएको हो ।
उहाँले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गर्नु भएको छ ।
प्रतिक्रिया