पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

९ साउन, २०७७ पर्सा । पर्सामा ५ जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जनाएको छ ।
५ जना मध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहार र १ जना उत्तर प्रदेशका हुन् । ५ जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुलाई अस्पतालमा ल्याउने तयारी भईरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
अन्य संक्रमितहरु मध्ये केहि कन्ट्याक्ट ट्रेसिङमा परेका र केहीले आफैंले शंका लागेर जाँच गराएकाहरु छन् ।
यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ ।
संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गर्नु भएको हो ।
प्रतिक्रिया