‘म नै सर्वेसवा हुँ’ भन्ने नठान्न ओलीलाई नेता नेपालको चेतावनी (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम नेकपाका केपी शर्मा ओलीमा आफूलाई नै सर्वेसर्वा ठान्ने र अरुको अस्तित्व स्वीकार नगर्ने भावना रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवसका अवसरमा निकालेको विज्ञप्तिमा नेपालले यस्तो भावनालाई विभाजनकारी भन्नुभएको छ । ओलीको नामै नलिई नेपालले यस्तो प्रवृत्ति विरुद्ध लड्नु कर्तव्य भन्दै कार्यकर्तालाई पनि त्यस विरुद्ध उभिन अपील गर्नुभएको छ ।
सत्तारुढ नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक ओलीकै कारण चुनावमा बहुमत आएको हो र ओली बाहेक अरु कसैले केही गर्न सक्दैन भनिरहेका छन । र, स्वयं ओलीनै देश र जनताका पक्षमा भैरहेका काम सबै मेरो कारणले भएको हो भनिरहनुभएको छ ।
तर पुष्पलाल स्मृति दिवसका अवसरमा वरिष्ठ नेता माधवकुमार नेपालले विज्ञप्ति निकालेर त्यसको प्रतिवाद गर्नुभएको छ । ओलीको नामै नलिई नेपालले त्यो मत र प्रवृत्तिको खण्डन गर्नुभएको छ । वरिष्ठ नेता नेपालका अनुसार कम्यूनिष्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था होइन ।
ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाल लेख्नुहुन्छ–कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ । ’ अर्थात ओली र ओली समर्थकले भने जस्तो कोही एक्लो वीरका कारण केही भएको होईन र जे जति उपलब्धि हासिल भएको छ,त्यो पार्टीको सामूहिक प्रयत्नको परिणाम हो ।
वरिष्ठ नेता नेपालले ओलीमा देखेको अर्को समस्या हो –आफूलाई नै सर्वेसर्वा ठान्ने, आफू नभए केही चल्दैन भन्ने र अर्काको अस्तित्व स्वीकार नगर्ने भावना । यसको पनि वरिष्ठ नेता नेपालले ईतिहासका सन्दर्भ उल्लेख गर्दै प्रतिवाद गर्नुभएको छ र ओलीमाथि निशाना साँध्नुभएको छ ।
वरिष्ठ नेता नेपालको बुझाईमा ओलीमा देखिएको यो सोच विभाजनकारी हो र यस्तै सोचले विगतमा नेपालको कम्यूनिष्ट आन्दोलनलाई थिलथिलो बनाएको थियो । नेपालले ओलीमाथि प्रहार गर्दै भन्नुभएको छ– ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । ’
ओलीमा यो व्यक्तिवादी र गैरकम्यूनिष्ट भावना प्रवृत्तिकै रुपमा विकास भएको नेता नेपालको विश्लेषण छ । वरिष्ठ नेता नेपालको निष्कर्ष छ–ओलीको नेतृत्वमा पार्टी र सरकार विधि र पद्धतिमा चलिरहेको छैन ।
ओलीको प्रवृत्ति र कार्यशैलीमा चर्को असन्तुष्टि व्यक्त गरेका नेता नेपालले त्यस विरुद्ध लड्ने उद्घोष गर्दै ईमान्दार कार्यकर्तालाई पनि आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति विरुद्ध उभिन अपील गर्नुभएको छ ।
कार्यकर्तालाई अपील गर्दै नेपालले भन्नुभएको छ–‘आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’
वरिष्ठ नेता माधवकुमार नेपाल सहित असन्तुष्ट पक्ष प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउने अडानबाट अघोषित रुपमा ब्याक भएको छ । र, यसैका आधारमा नेकपा भित्रको विवाद मिल्ने दिशातिर गएको भनिएको छ ।
त्यसै अनुसार विवाद हल भयो भने पनि वरिष्ठ नेता माधवकुमार नेपालको ओलीसँगको मतभेद र अन्तर्विरोध सहजै साम्य हुने देखिन्न । पुष्पलाल स्मृति दिवसका अवसरमा विज्ञप्ति निकालेर वरिष्ठ नेता नेपालले ओलीमाथि निशाना साँध्नुले त्यसै भन्छ ।
प्रतिक्रिया