अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिए

Himalaya Television
२०७७ साउन ७ गते १४:०१

अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिए

७ साउन, २०७७, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् ।

उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो ।

पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ ।

घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *