Main News

घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सांसद राईको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ६ गते १७:१४
घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सांसद राईको माग (भिडियोसहित)

६ साउन, २०७७ काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ ।

स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गर्नुभएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाई प्रवर्द्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताउनुभयो ।

उहाँले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफुले गैरसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताउनुभयो ।

नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताउनुभयो ।

अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवस्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभई ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *