नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए
६ साउन, २०७७, चितवन । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।
पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो ।
ब्यारेजमा अहिले ४ लाख क्यूसेक पानी प्रवाह भइरहेको नवलपरासी पश्चितमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिनुभयो ।
तीन लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको हो । निर्माणको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने अनुमान छ ।
नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले स्थानीयलाई आग्रह गरेको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पाठकले अहिले नै उद्धार गर्नु पर्ने अवस्था नभए पनि आफूहरु तयारी अवस्थामा रहेको बताउनु भयो ।
प्रतिक्रिया