Main News

देशका विभिन्न भागमा बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

हिमालय टिभी
२०७७ साउन ६ गते १२:३३
देशका विभिन्न भागमा बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

६ साउन, २०७७ काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक धादिङ, तनहुँ, काठमाडौं, दार्चुला र तेह्रथुममा गरी ९ जनाको मृत्यु भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा गएराती पहिराले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार पहिरोले घर पुर्दा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उहाँहरुकी डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। योसँगै पहिराले पुरिएर तनहुँमा एक हप्तामा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना विपत्ता भएका छन् ।

पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उहाँकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयो । घरमा सुतिरहेका बेला उनीहरुलाई बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *