आज देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सचेत रहन मौसमविद्को अनुरोध

६ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ । रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा धेरै हुने स्थानमा बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया