आजदेखि पाँच दिन देशभर ठुलो वर्षा हुने, सतर्कता अपनाउन सुझाव
४ साउन, २०७७ काडमाडौं । आजदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन्।
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आजदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन आग्रह गरेको छ ।
मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।
आजदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागले सबैलाई सतर्क रहन आह्वान गरेका छन्।
विशेष गरी प्रदेश १, २, ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको विपद् प्राधिकरणले जनाएको छ । देशका एक दुई स्थानमा अति भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
पाँच दिनसम्म पर्ने यो पानीले देशभरका साना ठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने र केही नदीहरुले सतर्कताको तह समेत पार गर्ने अनुमान छ ।
बाढी र पहिरोका कारण धेरै घर परिवार विस्थापित हुन सक्ने र जनधनको क्षति हुन सक्ने प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ । मनसुन सुरुभएपछि परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांस भाग गलिसकेकोले पाँच दिनसम्म पर्ने पानीले जोखिम थप बढाएको हो ।
प्राधिकरणले विज्ञप्ती निकालेर राहात र उद्धारका लागि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा राखेको जनाएको छ । कुनै पनि ठाउँमा ठूलो बाढी र पहिरो आएमा ११४९ र ११५५ नम्बरमा कुनै पनि बेला फोन गरेर जानकारी गराउन सकिनेछ ।
प्रतिक्रिया