भारतमा नेपालीमाथि दुर्व्यवहार गर्ने पक्राउ, अधिकांश संलग्नको पहिचान
३ साउन, २०७७ काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना भारतीय पक्राउ परेका छन् ।
वाराणसी ९बनारस० प्रहरीले विश्व हिन्दु सेनाका कार्यकर्ता सन्तोष पाण्डे पक्राउ परेको जानकारी दिएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बिहिबार बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए ।
साथै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए । त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए ।
त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बनारस प्रहरीका प्रवक्ता अमित पाठकले पाण्डेले नै सो भिडियो बनाएको दाबी गरेका थिए । यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।
पाण्डेको मोबाइलमा पनि सो भिडियो रहेको बताउँदै बनारस प्रहरीले छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गर्नुभएको थियो । कुराकानीको क्रममा आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिक्रिया