राजनीति

नेकपा विवाद र ओली–प्रचण्ड भेटवार्ताः असार १८ यता के के भए ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३१ गते २०:०८
नेकपा विवाद र ओली–प्रचण्ड भेटवार्ताः असार १८ यता के के भए ? (भिडियोसहित)

सत्तारुढ नेकपाको ६ महिनापछि बसेको स्थायी कमिटी बैठकको सुरुवातबाट चर्केको विवाद अझै मिलेको छैन । असार १० गते शुरु भएको बैठक पटकपटक स्थगित हुँदै फेरि साउन २ गतेका लागि बोलाइएको छ । असार १८ गते अन्तिम पटक बसेको बैठक त्यसपछि बोलाउँदै स्थगित गर्ने क्रम चलिरहेको छ ।

यो बीचमा दुई अध्यक्षबीच छलफल गरेर निकास निकाल्न प्रयास भइरहे पनि ठोस सहमति जुटेको छैन । १८ गतेयता ओली र प्रचण्डबीच कम्तिमा ५ पटक वान अन वान छलफल भएको छ । त्यसबाहेक पनि टेलिफोनमा र अन्य नेतालाई राखेर छलफल भएको छ । १८ गतेयताको छलफलको श्रृङ्खला कस्तो छ हेरौं यो टाइमलाइनमा ।

असार १८ गतेः अध्यादेशको आशंका

मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि अनेका आशंका उव्जिए । त्यतिबेला बालुवाटारमै रहेका प्रचण्डले महासचिव विष्णु पौडेललाई समेत साथमा लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई कार्यकक्षमै पुगेर छलफल गर्नुभयो । यो भेटमा प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको हो भनेर ओलीलाई प्रश्न गर्नुभयो । जवाफमा ओलीले केही दिन आफूले अध्यादेश नल्याउने बताएर आश्वस्त पार्ने प्रयास गर्नुभयो ।

१९ गतेः तीन घन्टा छलफल

१९ गते महासचिव पौडेल र नेता जनार्दन शर्मालाई समेत साक्षी राखेर ‌ओली–दाहालबीच तीन घन्टा छलफल भयो । त्यसबेला ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दै अन्य विषयमा मात्रै छलफल गर्ने बताउनुभयो । भेटमा प्रचण्डले पार्टी एकताको अघिल्लो दिन जेठ २ गते भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति पालना गर्नुपर्ने बताउनुभयो । जवाफमा ओलीले मंसिर ४ गते भएको अधिकार बाँडफाँड सम्बन्धि सहमति अनुसार अघि बढ्न सकिने तर जेठ २ मा फर्कन नसकिने स्पष्ट पार्नुभयो । दुवै अडानमा रहेपछि बैठक विना निष्कर्ष सकियो ।

२० गतेः प्रचण्डले भेटन समय नै पाउनुभएन

२० गते स्थायी कमिटी बैठक बस्ने र त्यसअघि ओली र दाहालबीच छलफल गर्ने भनिएको थियो । तर, प्रधानमन्त्त्री ओलीले व्यस्त भएको भन्दै समय दिनुभएन । उल्टै सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई बोलाएर पार्टी फुटको संघारमा पुगेको भन्दै आफ्नो कित्ता प्रष्ट पार्न आग्रह गर्नुभयो ।

२१ गतेः दुबै पद नछाड्ने ‌ओलीको अडान कायमै

२१ गते प्रधानमन्त्री ओली र दाहालबीच फेरी छलफल भयो । तर, ओलीले २१ गते पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्‍याउनुभयो । राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री झन आक्रामक बन्नुभयो । तर महाअभियोगबारे कसैले नसोंचेको भन्दै प्रचण्डले त्रसित नबन्न आग्रह गर्नुभयो । यो भेटमा प्रचण्ड पक्षबाट जनार्दन शर्मा र वर्षमान पुन तथा ओली पक्षबाट विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी हुनुभएको थियो । तर कुनै सहमति भने हुन सकेन ।

२२ गतेः समस्या समाधानका लागि दुवै पक्ष केही लचक

२२ गते ओली र दाहालबीच भएको संवाद केही सकारात्मक भएको भनियो । अघिल्लो पटकजस्तो यो बैठकमा अन्य नेता सहभागी भएनन् । यो भेटमा सहमतिका लागि प्रयास जारी राख्ने सहमति भएको बताइयो ।

२४ गतेः प्रचण्ड लचिलो, ओली आक्रामक

२४ गतेसम्म आइपुग्दा प्रचण्ड केही लचिलो बनेको बताइन्छ । दुवै पदबाट राजीनामा माग्ने अडानबाट उहाँ पछि हट्नुभयो । र एक पद मात्रै छाड्न आग्रह गरेको स्रोतहरुको भनाइ छ । तर ओलीले त्यसलाई पनि स्वीकार गर्नुभएन । उहाँले प्रचण्डलाई प्रधानमन्त्रीका लागि चुनाव कुर्न र अध्यक्ष चाहिए महाधिवेशनसम्म पर्खन भन्दै रुखो जवाफ दिएर फर्काउनुभयो । यसले दुईबीच फेरि दुरी बढ्यो ।

२५ गते र २६ गतेः दुई अध्यक्षबीच भेट हुन सकेन

२६ गते बोलाइएको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरियो । २७ गते प्रचण्ड गृहजिल्ला चितवन पुग्नुभयो । त्यहाँ उहाँले दुई अध्यक्ष समस्या समाधान गर्न तयार रहेको भन्दै लचकता देखाउनुभयो । प्रचण्डले चितवन पुग्दा काठमाडौंमा तत्कालका लागि पार्टी विभाजनको खतरा टरेको चर्चा भइरहेको थियो । प्रचण्ड २ दिनसम्म चितवनमै बस्नुभयो । उहाँ २९ गते काठमाडौं फर्कनुभयो ।

३० गतेः प्रधानमन्त्रीको थकानका कारण छलफल भएन

काठमाडौं फर्केको अर्को दिन ३० गते मंगलबार प्रचण्ड प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभयो । तर प्रधानमन्त्री ओली निकै थकित देखिनुभयो । थकानका कारण प्रधानमन्त्री ओलीलाई समस्या देखिएपछि प्रचण्ड आराम गर्नुस् भन्दै खुमलटार फर्कनुभयो । यि सृंखलावद्द छलफलमा पार्टी एकता कायमै राख्न सहमति भएको बताइएको छ । तर त्यसका लागि कसले के त्याग गर्ने भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्