राजनीति

भगवान रामको जन्मभूमि नेपाल भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको देशभित्रै चर्को आलोचना

हिमालय टिभी
२०७७ असार ३० गते १२:२२
भगवान रामको जन्मभूमि नेपाल भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको देशभित्रै चर्को आलोचना

३० असार, २०७७ काठमाडौं । त्रेतायुगको नेतृत्वकर्ता भगवान रामचन्द्र नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान रामचन्द्रको जन्म पर्साको ठोरी नजिकैको अयोध्यापुरीमा भएको बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको आरोप समेत लगाउनु भएको थियो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तीको सत्तारुढ नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारले आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई आधी–कविको संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं, सीधै वैकुण्ठधामको यात्रा गरौं भनेर व्यंग्य गर्नुभएको छ । डा. भट्टराईले ओलीका वचन र कर्मले सीमा नाघेको उल्लेख गर्दै अब छाडा छाडे खतरनाक हुने आशंका गर्दै खतरनाक अवस्थाको उपचार खोजिनुपर्ने बताउनुभएको छ ।

राप्रपाका अध्यक्ष एवं पूर्वपरराष्ट्र मन्त्री कमल थापाले प्रधानमन्त्रीले उटपट्याङ कुरा गरेको टिप्पणी गर्नुभएको छ । भारतसँगको सम्बन्ध बिगार्न ओलीले अप्रमाणित कुरा गरेको थापाको आशंका छ । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्रीको ध्यान गएको उल्लेख गर्दै थापाले नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो नभएको टिप्पणी गर्नु भएको छ ।

पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति अनियन्त्रित भएको उल्लेख गर्नुभएको छ । भारतीय बाँधका कारण जनता डुबानमा परेका बेला समस्या समाधान गर्ने भन्दा बिथोल्नेतिर प्रधानमन्त्री लाग्नुभएको डा. लोहनीको आरोप छ ।

सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले समेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गर्नुभएको छ । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको भनेर ट्विट गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिलाई भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको त होइन भनेर प्रश्न गर्नुभएको छ ।

कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डेले ओलीले उपहासपूर्ण बयान दिएको बताउनुभएको छ । पाण्डेले धर्म राजनीतिक र कूटनीतिभन्दा माथि रहेको र उपहासपूर्ण बयानले अप्ठ्यारो मात्र पार्ने बताउनुभएको छ ।

पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ । ढकालले श्रीलंका टापू कोशीमा रहेको छेवैमा हनुमान नगर पनि रहेको र बानर सेनाले पुल हाल्दा बसालेको भनेर व्यंग्य गर्नुभएको छ ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले भने ओलीको अभिव्यक्ति तथ्यमा आधारितत भएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्