Main News

सिलिचोङ पहिरोमा बेपत्ता ११ जना फेला परेनन्, उद्धारका क्रममा एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार २८ गते १९:२४
सिलिचोङ पहिरोमा बेपत्ता ११ जना फेला परेनन्, उद्धारका क्रममा एक जनाको मृत्यु

२८ असार, २०७७, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएराति पहिरोमा परेर ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेकाको उद्धारमा खटिएका एक जनाको मृत्यु भएको छ ।

उद्धारमा खटिएका २८ वर्षीय मदन भनिने प्रशान्त राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । पहिरोले सिसुवाखोलाका ९ घर पुरिएका छन ।

राममान राईको घर पहिरोले बगाउँदा उहाँसहित उहाँकी श्रीमति ५५ वर्षकी हस्तकुमारी, गर्भवति छोरी वर्ष २१ की एञ्जिला राई र ११ वर्षकी नम्रता राई वेपत्ता भएका प्रहरीले जनाएको छ । यसैगरी जुद्धबहादुर राई गैरीको घर पनि पहिरोले बगाएको छ ।

गोठमा गएका जुद्धबहादुर सकुशल रहे पनि उहाँकी श्रीमति वर्ष ६५ की गोरीमाया राई र छोरी वर्ष २२ की प्रकृति राई वेपत्ता छन् ।

पहिरोले घर बगाउँदा जुद्धबहादुर राई माने र उहाँकी श्रीमती उत्तरकुमारी राई ेबेपत्ता छन् । यसैगरी ८४ वर्षका हर्कराज राई, उहाँकी श्रीमती आइतमाया राई वेपत्ता हुनु भएको छ । ७० वर्षकी नजमाया राई पनि पहिरोले घर बगाउँदा बेपत्ता हुनु भएको छ । पहिरोमा परेका चार जनालाई गाउँलेले जीवितै उद्धार गरेका छन् ।

पहिरो गएको ठाउँमा आज दिनभर पानी परेकाले उद्धारमा कठिनाई भएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरेका छन् । गाडी चल्ने बाटो नभएकाले पैदल नै हिँडेको यो टोलीले भोलि मात्र सिसुवाखोला पुगेर उद्धारको काम गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *