Main News

म्याग्दीमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो, ९ जना घाइतेको उद्धार

हिमालय टिभी
२०७७ असार २७ गते १३:१५
म्याग्दीमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो, ९ जना घाइतेको उद्धार

२७ असार, २०७७ म्याग्दी । लगातारको वर्षापछि हिजो बिहान आएको पहिरोमा परी म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङमा २१ जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ जनाको शव शंकलन गरिएको छ । ९ जना घाइतेको उद्धार गरिएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएको धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । लगातारको वर्षा र पहिरोका कारण उद्धार र राहत वितरणमा समस्या भएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीका अनुसार हिजो मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली आज पैदल हिँडेर घटनास्थलतर्फ गइरहेको छ । तल्लो क्षेत्रको मौसममा सुधार भए पछि राहत सामग्री लिएर सेनाको हेलिकोप्टर घटनास्थल पुगेको हो ।

घटनास्थल पुगेर फर्केकी धवलागिरी गाउँपालिकाकी अध्यक्ष धमसरा पुनका अनुसार ३ सय ४२ घरधुरी रहेको त्यस स्थानमा ४२ घर मात्र सुरक्षित रहेको र अन्य घर क्षतिग्रस्त रहेका छन् ।

पहिरोबाट भएको भौतिक क्षतिको एकिन भएको छैन । पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय स्तरबाट खानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *