कोरोनासँगै बाढीपहिरोको कहर, के गरिरहेको छ सरकार ? (भिडियोसहित)
२६ असार, २०७७ काठमाडौं । मनसुन सुरु भएसँगै देशैभर जनधनको क्षति भैरहेको छ । पछिल्लो दुईदिनयता अविरल वर्षका कारण बाढी पहिरो रोकिएको छैन । र अझै केही दिन यो क्रम जारी रहने बताइएको छ । यस्तोमा बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारको तयारी कस्तो छ त ?
देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण जनधनको क्षति बढ्दो छ । र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाइसकेको छ । र मनसुन जन्य घट्नाले निम्त्याउने परिस्थितिको आँकलन गर्दै सरकार उच्च सतर्कताका साथ तयारीमा रहेको गृहमन्त्रालयको दावी छ ।
मनसुन जन्य घट्ना विगतमा नहुने गरेको होइन । तर यसपटक परिस्थिति फरक छ । किनकी देश कोरोना संक्रमणको महामारीसँग जुधिरहेको छ । त्यसैले संघीय सरकारले त्यसै अनुसार प्रदेश, र स्थानीय सरकारसँगको समन्वयमा सुरक्षाका उपाय अवलम्बन गर्दै उद्धार र राहतलाई निरन्तरता दिएको जनाएको छ ।
बाढी पहिरोले वर्षेनी लाखौंको क्षति हुने गरेको भने सयौंको ज्यान जाने गरेको छ । घट्ना हुँदा तदारुकता दिने सरकारले दीर्घकालीन समाधान खोज्ने क्षति न्यूनिकरणका लागि काम गरेको देखिन्न ।
नागरिक बचाउनु सरकारको मुख्य दायित्व हो । तर वर्षेनी हुने यस्ता बिपत्तिबाट हुने क्षति न्यूनीकरण र रोकथाम सरकारको एकल प्रयासले मात्र सम्भव छैन । त्यसैले नागरिकको सचेत भूमिकाको पनि सरकारले अपेक्षा गरेको छ ।
तस्वीरः गुञ्जनराज गिरी/हिमालय टेलिभिजन
प्रतिक्रिया